|

समाचार

कसले मार्ला बाजी ?

ज्ञानेन्द्र निरौला ।।

 

यतिबेला संसद्मा सबैभन्दा ठूलो दलको हैसियत कायम गरेको राजनीतिक दल नेपाली काङ्गे्रसको १३ औँ महाधिवेशन राजधानी काठमाडौँमा चलिरहेको छ ।

फागुन २० गते सुरु भएको महाधिवेशनमा सहभागी हुन देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन् । ३ हजार १ सय ८८ जना प्रतिनिधिले बन्द सत्रमा सभागिता जनाउने काङ्गे्रस महाधिवेशनलाई झापाका दुई राजनीतिककर्मीसँग जोडेर यो सामग्री तयार गर्दैछु ।

यो महाधिवेशनले झापाका दुई हस्तीहरु वीपी अर्थात बिश्वप्रकाश शर्मा र केपी अर्थात कृष्णप्रसाद सिटौलाको राजनीतिक भविष्य निर्धारण गर्ने देखिन्छ । कृष्ण सिटौला बर्तमानमा काङ्गे्रसका मनोनित महामन्त्री हुन् भने १३ औँ महाधिवेशनमा सभापतिका उमेद्वार ।
त्यस्तै, बिश्वप्रकाश शर्मा बर्तमानमा उनी पदीय जिम्मेवारीमा छैनन् भने १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उमेद्वारी दर्ता गराएका छन् ।

झापा काङ्गे्रसका यी दुई प्रभावशाली नेताहरूबीच अघोषित प्रतिस्पर्धा छ र त्यो १३ औँ महाधिवेशनमा प्रष्ट देख्न सकिन्छ । जिल्लामा देखिने गरी खासै मतान्तर नभए पनि केन्द्रीय राजनीतिमा भने यी दुवै दुई ध्रुवमा उभिएका छन् ।

महाधिवेशनमा आफ्नो राजनीतिक केरियरलाई नयाँ मोड दिन होमिएका यी दुई पात्रमध्ये सिटौला आफ्नै नेतृत्वमा युवा नेता गगन थापालाई महामन्त्रीको उमेद्वार बनाएर र मधेशका प्रभावशाली मानिएका पूर्व मन्त्री उमाकान्त चौधरीलाई कोषाध्यक्षको उम्मेद्वार बनाएर काङ्गे्रसको आगामी नेतृत्व हत्याउने दाउमा छन् ।

विश्वप्रकाश शर्मा शेरबहादुर देउवाको सभापतित्वमा रहेको समूहका मुख्य योजनाकारका रुपमा काम गरिरहेका छन् । शर्माले देउवा समूहको चुनावी रणनीति बनाउने सम्पूर्ण जिम्मेवारी पाएका छन् ।

हुन त रामचन्द्र पौडेलको नेतृत्वमा अर्को समूह पनि काङ्गे्रसको चुनावी मैदानमा छ । तर, त्यो समूहमा यी दुई झापाली पात्रकोे प्रत्यक्ष सरोकार छैन । सिटौला स्थापित नेता हुन् । तर, यो महाधिवेशनमा पहिलो चरणमा नै देउवा वा पौडेलमध्ये कसैले बाजी मारे सिटौलाको राजनीति सङ्कटमा पर्ने देखिन्छ । सिटौला बर्तमान राजनीतिका चतुर खेलाडी हुन् । उनी काङ्गे्रसको बिधानमा भएको सभापतिले ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने प्रावधानलाई टेकेर सभापति हत्याउने दौडमा छन् ।

सिटौला पक्षले पहिलो चरणमा तीन सभापतिका उमेद्वारमा देउवाले पहिलो मत र पौडेलले तेस्रो मत ल्याउने अनुमान गरेको छ । कसैको ५० प्रतिशत भन्दा बढी मत नपुगे दोस्रो चरणको निर्वाचन हुने बिधान अनुसार पहिलो चरणका बढी मत ल्याउने देउवासँग सिटौलाको प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो चरणमा रामचन्द्र पौडेललाई मतदान गरेका प्रतिनिधिले आफूलाई मतदान गर्ने र सभापतिको चुनाव जितिने आँकलन सिटौलाले गरेका छन् ।
त्यस्तै, देउवाका रणनीतिकारका रुपमा यो महाधिवेशनमा देखा परेका विश्वप्रकाश पहिलो चरणमा आफू केन्द्रीय सदस्यसहित देउवा समूहलाई बिजयी बनाउन लागि परेका छन् । यो काम गर्न यदि बिश्वप्रकाशको योजना सफल भयो भने उनले एउटा तीरबाटै दुई शिकार गर्नेछन् ।
जिल्लाको राजनीतिमा सधैँ सिटौलाको शिकार भएका शर्माले जितेमा सिटौलालाई संसद् बाहेक पार्टीको सबै जिम्मेवारीबाट ‘रिङ आउट’ गर्नेछन् । यो उनको पहिलो फाइदा हुने छ । दोस्रो, आफूभन्दा कनिष्ट गगन थापालाई पनि हराएर आफूलाई उनको पपुलारिटीबाट पनि माथि उठाउने छन् ।

दउ ७ पउ

त्यसो त विश्वप्रकाश शर्मा र गगन थापा यो महाधिवेशनका सबैभन्दा चर्चित उम्मेद्वार देखिन्छन् । त्यसको पनि कारण छ । त्यो हो विश्वप्रकाशका जिल्लाबासी सिटौलाले गगनलाई साथ लिए भने समूहका हिसाबले सिटौलासँग दुरी बनाएका देउवालाई जिताउन बिश्वप्रकाश संस्थापन समूहबाट अलग्गिए । त्यसो त युवा नेतृत्वको कुरा गर्ने अनि गगनसहितको समूहलाई छोडेर ७० काटेका देउवालाई जिताउन लाग्ने भन्ने आरोप यतिबेला विश्वप्रकाशले झेलिरहेको उनका निकटवर्तीहरू बताउँछन् ।

यी दुवैको बिचमा एउटा नयाँ सम्भावना पनि हुन सक्छ । त्यो भनेको सिटौलाले सभापतिमा र शर्माले केन्द्रीय सदस्यमा चुनाव जितेर दुवै झापालीले काङ्गे्रसको राजनीतिमा जरा गाड्न सक्छन् । तर, त्यो सम्भावना अत्यन्तै न्यून देखिन्छ ।

सिटौलालाई नजिकबाट जान्नेहरूका अनुसार पहिलो चरणमा सिटौला तेस्रोे भए र कसैको पनि आवश्यक सङ्ख्या पुगेन भने दोस्रो चरणको निर्वाचनमा सिटौलाले अर्को दाउ खेल्ने छन् । त्यो भनेको देउवाबाट संसदीय दलको नेताकोे जिम्मेवारी आफूले पाउने बनाएर देउवालाई सभापतिमा सघाउने । तर, त्यो अवस्थामा अहिलेका देउवाका बिश्वास पात्र देखिएका शर्माले सिटौलासँगको सम्बन्धलाई कसरी अघि बढाउने छन् त्यो भने भविश्यले नै देखाउने छ ।

झापाका यी दुई राजनीतिक अगुवालाई यो महाधिवेशनले कुन रुपमा उभ्याउने हो त्यसका लागि भने अझै केही दिन पर्खनुको बिकल्प छैन । तर, आम झापालीका तर्फबाट यी दुवै राजनीतिककर्मी जो केन्द्रीयस्तरमा आ–आफ्नै पहिचान बनाउन सफल भएका छन् । उनीहरूबीच एकता र सद्भाव सधैं कायम रहोस् र त्यसको सकारात्मक प्रभाव जिल्लाको बिकास निर्माणमा परोस् भन्ने नै चाहन्छन् । वीपी र केपी, दुवै झापाली हस्तीलाई शुभकामना ।



यसमा तपाईको मत