|

समाचार

वैदेशिक रोजगारमा प्रतिबन्ध लगाऊ ।

ज्ञानेन्द्र निरौला ।।

नेपाल र नेपालीको पहिलो रोजाई वैदेशिक रोजगार बनिरहेको परिप्रेक्ष्यमा यो क्षेत्र सधँै अव्यवस्थित र अमर्यादित बनिरहेको छ । वैदेशिक रोजगारले हाम्रो कूल ग्राहस्थ उत्पादनको २९।२ प्रतिशत योगदान रहेको तथ्याङ्कले बोल्छ । तर त्यस अनुसारको यो क्षेत्रलाई थप व्यवस्थित र सहज बनाउन राज्य र अन्य सरोकारवालाहरूको ध्यान जान सकेको देखिँदैन । राज्य रेमिट्यान्सबाट देश चलाउन पाएकोमा मख्ख छ भने व्यवसायीहरू वैदेशिक रोजगारमा जाने युवाबाट पैसा असुल्नैमा दङ्ग ।

हाम्रा थुप्रै स्कुटी र मोटरसाइकल पनि तिनै युवाले पठाएको पैसाबाट नै दौडिरहेका छन् । जिल्ला कै कुरा गर्ने हो भने वैदेशिक रोजगारमा जानेको सङ्ख्याका दृष्टिले देश कै अग्रणी जिल्लामा पर्छ झापा । झापालाई केन्द्र बिन्दु बनाएर मात्र दुई सय भन्दा बढी वैदेशिक रोजगार व्यावसायिक कम्पनीहरू व्रिmयाशील रहेको तथ्याङ्क छ । त्यसो भा के त हामी वैदेशिक रोजगार कै भरमा बाँच्ने हो त अब भन्ने प्रश्नले यतिबेला जरो गाडेको छ । हाम्रा सरकारहरू पनि युवालाई विदेश पलायन गराउन कै लागि तल्लीन देखिन्छन् ।

वत्र्तमानमा वैदेशिक रोजगारको क्षेत्रमा दुईवटा समस्या एकै पटक आएको छ । पहिलो समस्या भनेको सङ्ख्याका हिसाबले सबैभन्दा बढी नेपाली युवा जाने मलेसियाले नेपाली कामदार लिन बन्द गरेको छ । त्यसले ठूलो सङ्ख्यामा मलेशिया जान तयार भएका र भोलि जाने युवाहरूका लागि ढोका बन्द मात्रै गरेको छैन, त्यसबाट प्राप्त हुने रेमिट्यान्स पनि गुमेको छ । त्यसले कहीँ न कहीँ हाम्रो सामाजिक संरचनामा नै असर पार्ने पक्का छ ।

दोस्रो समस्या भनेको कानुनी प्रावधानका विरुद्ध व्यवसायीहरूको आन्दोलन । यतिबेला वैदेशिक रोजगार व्यावसायीहरू कानूनमा भएको व्यवस्थालाई लिएर आन्दोलित छन् । जसका कारण वैदेशिक रोजगारमा जान ठिक्क परेको हजारौँ युवा पनि रोकिएर बसेका छन् । यी वैैदेशिक रोजगारका समस्या कै रुपमा अगाडि आएको छ ।

वास्तवमा नेपाल सस्ता कामदार उत्पादन गर्ने देशका रुपमा विश्व बजारमा परिचित छ । त्यो किन भने पछिल्लो अध्ययनले जानकारी भएको कुरा विकसित देशहरूमा एउटा दक्ष जनशक्ति तयार गर्न मात्रै करोडौँ रकम राज्यले लगानी गर्नु पर्छ तर नेपाली कामदार जोखिम भन्दा जोखिम काम गर्न पनि अत्यन्तै सस्तो मूल्यमा तयार छन् । त्यसैले पनि खास गरी खाडी मुलुकमा नेपाली कामदारलाई प्राथमिकता दिइँदै आएको छ ।

वैदेशिक रोजगारलाई रेमिट्यान्स आउने कुरा र त्यही रेमिट्यान्सबाट मुलुक सञ्चालन गर्ने कुरासँग जोडेर हेर्न मिल्दैन । यसको सामाजिक प्रभाव फराकिलो बन्दै गएको छ । दैनिक १६ सयका दरले नेपाली युवाहरू वैदेशिक रोजगारका लागि जान्छन् भनेर पुग्दैन । तिनै कामदारका दैनिक ४ वटा लाश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने तथ्याङ्कले पनि वैदेशिक रोजगारी कति सुरक्षित छ भन्नेतर्फ इशारा गरिरहेको छ । त्यति मात्र होइन पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका कारण हाम्रो सामाजिक साँस्कृतिक मूल्य मान्यताहरूमाथि प्रहार हुँदै गएका छन् । कैयन युवाहरू वैदेशिक रोजगारीमा गएर घर नफर्कने कुराले सताएको छ भने कैयन त्यस्ता परिवार छन् जो वैदेशिक रोजगारी कै कारण छिन्न भिन्न भएर कमाएको सम्पत्ति समेत आफ्नो भन्न नपाउँदै सडकको बास बनेको यथार्थ हाम्रा सामु छ ।

त्यसैले वैदेशिक रोजगारीले पैसा त दिएकै छ । वर्तमानको तथ्याङ्कलाई मात्र हेर्ने हो भने २० लाख भन्दा बढी नेपाली कुनै न कुनै मुलुकमा गएर काम गरिरहेका छन् । तिनले पठाउने मासिक सरदर १७ हजार रुपैयाँले गर्दा पनि खरबौँ रकम नेपाल भित्रिरहेको छ । के यही मात्र हो त वैदेशिक रोजगारलाई हेर्ने पाटो । पक्कै पनि होइन । देश विकास नहुनुमा पहिलो र अन्तिम सत्य युवा जनशक्ति देशभित्र नभएर नै हो । त्यसैले देशको चौतर्फी विकासमा युद्धस्तरमा लाग्ने हो भने वैदेशिक रोजगारीलाई राज्यले पूर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्छ ।

त्यसले दुईतर्फी फाइदा पुग्छ । पहिलो फाइदा वर्तमानमा वैदेशिक रोजगारमा जान ठिक्क परेका युवाहरू यही केही स्वरोजगारको बाटो खोज्नेतर्फ लागिहाल्ने छन् । दोस्रो भनेको विदेशमा रहेका दक्ष युवा जनशक्ति स्वदेशमा फर्किएर उनीहरूको ज्ञान र सीप मुलुकको विकासमा खर्च गर्नेछन् । जसका कारण देश विकासले द्रुत गति लिन सक्छ ।

वैदेशिक रोजगारीको बाढीलाई राक्ने हो भने त्यो बाढीले यहाँको संरचना भित्रै रोजगारको सम्भावनाको बाटो खोज्ने छ । अहिले त भएका सम्भावनाहरू पनि अलिकति मेहनत नगरेका कारण सजिलो बन्दै गएको वैदेशिक रोजगारतिर नै केन्द्रित भएको छ । वैदेशिक रोजगारीलाई पूर्ण रुपमा रोक्ने हो भने देशको राजनीतिक परिदृश्य पनि सङ्लिने निश्चित छ । अहिले जस्तो हचुवाको भरमा नेता हुन पाइने अवस्था त्यति बेला रहने छैन । किनकि बेरोजगार युवाहरूका लागि रोजगारीको अवसर सृजना गर्नु पहिलो चुनौति हुने छ र त्यसमा प्रभावकारी काम गर्न जुन दल र जुन नेताले भूमिका खेल्न सक्छ तिनै दल र नेताले मात्र आम जनताको समर्थन प्राप्त गर्ने पक्का छ ।

यो कुरा बुझेकाले नै होला हाम्रा देशका नेतृत्व गण स्वरोजगार भन्दा वैदेशिक रोजगारमा बढी ध्यान केन्द्रीत गर्न लागि परेका छन् । जसले उनीहरूको राजनीतिमा लाग्न सक्ने ग्रहण पर सारिरहेको छ । त्यसैले अब क्षणिक भोग बिलासबाट मुक्त भएर देशको राजनीतिमा सुधार गर्न र स्वरोजगारलाई प्रबर्धनका लागि बवदेशिक रोजगारलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनेतर्फ आम नागरिकले राज्यलाई दवाब दिन जरुरी छ ।



यसमा तपाईको मत