|

समाचार

चिसो मैसममा शरिर तताउँदछ भनेर मदिरा सेवन गर्नु ठूलो भ्रम : सुरेश खतिवडा !!

चिसो मैसममा शरिर तताउँदछ  भनेर मदिरा सेवन गर्नु ठूलो भ्रम : सुरेश खतिवडा !!
      आधुनिक सहरीया, मोर्डन, फेसनेवल हुनु पर्छ अनि समय सापेक्ष चल्न जान्नु पर्दछ र समान हैसियत बनाउनु पर्दछ भन्ने विचार अहिलेको युवायुवति अनि व्यस्क दुवैमा हावि छ । परिवार बन्धनका महिलाहरु र नेतृत्वका वृद्धवृद्धा समेत यस अवधारणाबाट अछुतो छैनन् । सामान्यतया कुनै पनि विषय, घटना, वस्तु, अवस्था, विचार र व्यापारसंग सम्बन्धित कुराहरुको स्वीकार गर्नुु वा त्यसका विशेषताहरु मनपराउनु अनि त्यसलाई अंगिकार गर्नु अवधारणा हो । समाज यस्ता अवधारणाहरुको बहुमतमा छ जसको कुनै दुष्प्रभावलाई निष्प्रभावी बनाउन थौरै मात्र कसरतले पुग्दैन । उसका यस्ता नकारात्मक ज्ञान, धारणा, विचार, आचारण र स्वभावमा सकारात्मक परिवर्तका निमित्त उसमा विशेष र विशिष्ट किसिमका तर्क संगत र प्रभावित तथ्यहरु पेश गरेमा अनि त्यसको वारम्बारतालाई जोड दिएमा मात्र सफलता प्राप्त गर्न सकिने देखिन्छ ।
 
       यहाँ प्रसंग जाडो महिनाको हो अनि प्रसंग यस महिनामा यहाँका आधुनिक समस्याले प्रयोगमा पाउने मद्यपान र धुम्रपानको हो । “कस्तो चिसो छ एउटा दिनु त साहु जी ।” भन्दै विभिन्न ब्रान्डका चुरोटहरु माग्ने स्कुल कलेजका ड्रेसका विद्यार्थी युवाहरुको हो तथा छुट्टी मनाउन साथिभाई भेला गरी शरिर तताउन भन्दै मद्यपान गराउने र गर्ने आधुनिक कर्मचारी व्यापारी बुद्धीजिवी अनि कामकाजी महिला अनि मजदुर वर्गको पनि हो । जसलाई नयाँ वर्ष, पुर्नमिलन, ग्यादरिङ, रिफ्रेसमेन्ट र पार्टी, वर्थडे, एनिभर्सरी, गुड फ्राइडे र पिकनिक इत्यादिले एक जुट बनाउने गर्दछ । यहाँ यस मौसममा यास्ता अवधारणले भरिएका व्यक्तित्वहरुको जमात हामी हाम्रै स्थानीय पिकनिक स्पटहरु तथा पर्यटकिय स्थलहरुमा नियाल्दा प्रसस्तै भेट्न थालेका छौ भने यसबाट निम्तिएको अप्ठ्यारा, अशोभनिय घटना र सवारी दुर्घटनाहरु बारे हामी दिन दिनै अद्यावधिक हुन थालेका छौ । जाडोमा धुम्रपानले अरुभन्दा फरक, स्मार्ट साथीभाईहरुमा मेलमिलाप गराउने नभई विविध प्रकारका रोगहरु निम्त्याउँदछ भन्ने कुराहरु आफुलाई आधुनिक देखाउन चाहने युवायवुतीहरुलाई बुझाउन जरुरी छ भने यसको सेवनले छाला, जिब्रो, मुख, घाँटी तथा फोक्सोको आकस्मिक तथा गम्भिर दिर्घकालिन रोगहरु लाग्न सक्ने प्रमाणित र सत्य कुरामा उनीहरुबाटै प्रचार प्रसार गराउन सक्ने प्रावधानको योजना गरिनु पर्दछ ।
 
       जाडोमा जिउ तताउन रक्सी (अल्कोहल) खाएमा फइदा गर्दछ भन्ने भ्रम यो पिउने समुदायमा व्यप्त छ । धर्म सस्कृतिका नाममा, सगुनका नाममा चलनचल्तिको नाममा अनि जातले पाएको भन्दै प्रतिष्ठा बढाउन र संगत समान बनाउन भन्दै मदिरा (अल्कोहल) को प्रयोग बढ्दो छ । त्यस माथि जाडो महिनामा सधैँ थोरै–थोरै पिएमा जाडो काट्छ, जिउ तताउदछ र दवाईको काम गर्दछ भन्ने जस्तो गलत र भ्रामक विचारले त झनै बुझ्नेलाई पनि अबुझ बनाइ दिएको छ । यस माथि चिसोमा विहान–वेलुका लामो यात्रा गर्दा, सवारी चलाउँदा, चिसोमा काम गर्दा विहानैबाट अल्कोहल पिएर मात्र काम गर्ने र यात्रा गर्ने चलन बढ्दो छ । जसले गर्दा कुहिरोको समयमा सवारी दुर्घटना, कार्यस्थलमा दुर्घटना र अन्य रोग व्याध सम्बन्धि जोखिमहरु बढ्दै गएको छ । यसले हृदयघात, मस्तिष्कघात, मुटु कलेजो सम्बन्धि समस्याहरु, कडा प्रकृतिका आकस्मिक स्वास प्रश्वास सम्बन्धि समस्याहरु निम्त्याइरहेको छ । अखबारहरुले देशका विभिन्न ठाउँमा राति मदिरा सेवन गरि सुतेको व्यक्ति विहानको  सुर्योदय र उज्याला देख्न नपाएको दुखद समाचारहरु प्रकाशित गर्न थालेका छन् । विशेषज्ञहरुको व्यक्तिगत अभिलेखहरुमा र अस्पतालको रिर्पाटिङमा गत वर्ष झै यस चिसो मौसममा धुम्रपान, मद्यपानका कारण यस प्रकृतिका आकस्मिक तथा पुराना रोगहरुको अस्पतालमा चाप बढेको देखिन्छ । त्यस्तै चौतर्फी रुपमा शर्तक रहन सम्बन्धित पक्षबाट विज्ञप्तिनै निकालेर सुझाएको अवस्था पनि छ भने कम वर्षाका कारण भएको अत्याधिक प्रदुषण र मानविय व्यवहारले गर्दा चिसो हुन सक्ने जोखिमको मात्रा अझ बढ्ने देखिएको छ । यो मौसममा चिसो स्थान र हिऊँ जम्ने ठाउँ भएको वातारणमा त झन यस्तो खराब बानि र मानविय चरित्रले विशेष जोखिम र जटिलता उत्पन्न गर्दछ ।
 
      हाम्रो शरिर छालाले ढाकिएको छ । जसको मुनी असंख्य स्नायु रेशाहरु र रक्त प्रवाहका निम्ति रक्तकेशिकाहरु जालो झैँ फैलिएका हुन्छन् भने तापक्रम अनुभव गर्ने केन्द्रहरु  हरु पनि ठाउँ ठाउँमा हुने गर्दछन् । जसले चिसो र तातोपनाको अनुभवहरु मस्तिष्कमा पठाउने गर्दछ । जब व्यक्तिले मादक पर्दाथ या रक्सी सेवन गर्दछ । यसमा हुने विशेषताले मानवलाई भ्रम पैदा गर्दछ । मादक पर्दाथ (अल्कोहल)मा हुने एक विशेषता भनेको रक्तकेशिकाहरुलाई फराकिलो पार्नु या फुकाउनु हो । मानिषले यस्तो अदृष्य प्रकृयालाई सजिलै विश्वास त गर्न सक्दैन तर के हो भने अल्कोहल सेवन पश्चात् छालामा रहेका रक्तकेशिकाहरु फुक्दछन् फलस्वरुप, यहाँ रगतको प्रवाह बढ्दछ र शरिर भित्र प्रवाहित तातो रगत छाला मुनिको भागमा आउँदा हामीलाई क्षणिक तातो भएको महशुश हुन्छ । किनकि त्यहाँका ताप केन्द्रहरुले मस्तिष्कमा त्यहि सुचना दिने गर्दछन् । तर यदि हामी चिसो मौसममा छौँ भने या यो तापक्रम कमि हुने मौसममा हाम्रो बहिरी छालाको सतहमा आएको रगत तुरुन्त चिसो भई मुख्य संचार नलिमा गईरहेको हुन्छ । फलस्वरुप मुख्य अंगहरु मस्तिष्क, कलेजो, मुटु, फोक्सो, मृगौला इत्यादिको तपक्रम चिसो रगतले गर्दा न्यून हुदैँ जाने गर्दछ भने बहिरी भागका हिट सेन्सरहरुले आफु तातो नै भएको मस्तिष्कलाई संवेदनाहरु पठाउँदछन् । यसरी यहि क्रम धेरै बेर सम्म रहेमा व्यक्तिको मुटुको चालमा असर गर्ने, श्वासप्रश्वास प्रकृयामा असर गर्ने, चेतना हराउने र काम्ने समेत भई मृत्यु हुन सक्दछ । यस चिसो मौसममा शरिर तताउन भनेर अल्कोहलमा अन्य पर्दाथ मिसावट गरि पिउँदा पसिना आएको छ भने भित्रि अंगहरुमा चिसो रगत प्रवाह हुने क्रम अझ तिव्र हुन्छ । किनकि यस बेला मुटुले तिव्र गतिमा चाल पैदा गरि रक्त प्रवाह बढाएको हुन्छ । यसरी हाम्रो बहिरी भागहरु आँखा, अनुहार, नाक, कान, हत्केला आदिका छालामा तिव्र रक्त प्रवाहका कारण तातो र रातो भएको हुन्छ भने यथार्थमा हाम्रा भित्रि मुख्य अंग र प्रणालीहरु चिसिदै गएका हुन्छन् । जसले व्यक्तिलाई मृत्युको म्ुख सम्म पु¥याउन सक्दछ । त्यसकारण यस चिसो मैसममा शरिर तताउँदछ र अनन्द दिलाउदछ भनेर मदिरा सेवन गर्नु ठूलो भ्रम अनि जोखिम र हानिकारक हुनेछ । जुन प्रयोगात्मक र प्रमाणित तथ्य हो ।
 
 
Sureshkhatiwada112@gmail.com
Shantinagar 4 Jhapa !


यसमा तपाईको मत