|

समाचार

मेचीनगर र बिर्तामोडको आज टुङ्गो लाग्ने

मेचीनगर र बिर्तामोडको आज टुङ्गो लाग्ने

धुलाबारी, जेठ १३ ।। जेठ ३१ को स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले झापाको मेचीनगर र बिर्तामोड नगरपालिका बाहेकका सबै १३ तहका प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुङ्गो लगाएको छ । उम्मेद्वारको अन्तिम नाम निर्णय गर्न केही दिन देखी लगातार बसिरहेको एमाले १ नं।प्रदेश कमिटीको हिजो बसेको बैठकले झापाका १३ स्थानीय तहमा उम्मेद्वार बन्ने प्रमुख र उपप्रमुखको नाम निर्णय गरेको एमाले केन्द्रीय सदस्य भाष्कर काफ्लेले जानकारी दिनु भयो । मेचीनगर र बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम आज बेलुका सम्ममा निर्णय हुने समेत केन्द्रीय सदस्य काफ्लेले बताउनु भयो । हिजो अन्य गाउँ नगरको छलफलले नै धेरै समय लिएकाले समय अभाव भए पछि बिर्तामोड र मेचीनगरका बिषयमा आज छलफल गरी उम्मेद्वार तय गरिने काफ्लेले बताउनु भयो । नेकपा एमालेले निर्णय गरिसकेका झापाका उम्मेद्वारहरुमा भद्रपुर नगरपालिकामा प्रमुखमा जीवनकुमार श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठ, कन्काई नगरपालिकाको प्रमुखमा राजेन्द्र पोखरेल र उपप्रमुखमा मञ्जु प्रसाईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । त्यसैगरी शिवसताक्षी नगरपालिकाको प्रमुखमा चन्द्रकुमार शेर्मा र उपप्रमुखमा भोजकुमारी नेपाललाई उम्मेद्वार बनाउने निर्णय भएको एमालेले जनाएको छ । त्यस्तै दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा गिता अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको केन्द्रीय सदस्य भाष्कर काफ्लेले जानकारी दिनु भयो । अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरि राना र उपप्रमुखमा देविका भट्टराईलाई उम्मेद्वार बन्ने भएको एमालेले जनाएको छ । त्यसैगरी गौरादह नगरपालिकाको प्रमुखमा मदन अधिकारी र उपप्रमुखमा गिता भेट्वाल उम्मेद्वार बन्ने पक्का भएको छ । त्यसैगरी गाउँपालिका तर्फ बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा चिन्तन पाठक र उपाध्यक्षमा मिना भुर्तेलको निर्णय भएको छ । हल्दीबारी गाउँपालिका अध्यक्षमा मञ्जु सिटौला र उपाध्यक्षमा डम्बर गिरीलाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ । झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकी एमालेलेका तर्फबाट उम्मेद्वार बन्ने छन । त्यस्तै गौरीगञ्ज गाउँपालिको अध्यक्षमा श्याम ढकाल र उपाध्यक्षमा मनिता राई , बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमला, त्यस्तै कचनकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाललाई उम्मेद्वार बनाउने एमाले १ नं। प्रदेश कमिटिले निर्णय गरेको छ ।



यसमा तपाईको मत