|

समाचार

म्यादीले लाईसेन्स हेरे पछि

म्यादीले लाईसेन्स हेरे पछि
काकरभिट्टा, बैशाख २८ ।। 
झापा बाहुनडाँगीका गोबिन्द न्यौपाने बिहिबार अपरान्ह कार्यालयको काम सकेर काकरभिट्टाबाट घर तर्फ लाग्दै हुनुहुन्थ्यो । काकरभिट्टा बाहुनडाँगी रोडको भट्टराई चौकमा पुग्नासाथ सादा पोषाकमा रहेका हातमा ५ फिट लामो डण्डा बोकेका एक हुल युवाको समुहले न्यौपानेको मोटरसाईकल रोके अनि शुरु भयो सोधपुछ । कहाँबाट आएको, कता हिंडेको, लाईसेन्स देखा । न त त्यहा नेपाल प्रहरीले त्यो ब्यवहारलाई रोक्ने कोशिष गर्यो नत ति युवाले लाईसेन्स हेर्ने अधिकार पाएको ट्राफिक प्रहरीको पोषक नै लगाएका थिए । सडकमा हिडिरहेको बेला एक्कासी ६० भन्दा बढी डण्डाधारी युवाले मोटरसाईकल रोकेर सोधपुछ गर्दा आफु अचम्ममा परेको पिडित न्यौपानेले रेडियो सरगमलाई बताउनु भयो । काकरभिट्टा स्थीत नाईट चेस क्लबका अनुगमन तथा मुल्याकन अधिकृतको पदमा कार्यरत न्यौपानेले ति डण्डाधारी युवाले आफुलाई अपमान जनक ब्यवहार गरेको बताउनु भयो । आफुले निर्वाध हिढडुल गर्न पाउने भन्ने कुरा राख्दा ति डण्डाधारी युवाले आफुहरु म्यादी प्रहरी भएको बताएको न्यौपानेले बताउनु भयो । 
निर्वाचनका लागि मात्र भर्ना गरिएका र दुई हप्ता भन्दा कम समय तालिम लिएका युवालाई डण्डा दिएर सादा पोषाकमा सडकमा उतारेर आम नागरिकलाई सोधपुछ गर्ने अधिकार प्रसाशनलाई कसले दियो न्यौपाने प्रश्न गर्नु हुन्छ । सामाजिक अगुवा न्यौपानेले भन्नु भयो “म्यादी प्रहरी हुन भन्ने कहिं कतैं संकेत सम्म नभएका युवाले सडकमा आतंक मच्चाए” । 
यस बिषयमा काकरभिट्टा प्रहरी प्रमुख डिएसपी दुर्गाप्रसाद रेग्मीसंग जानकारी लिदां नेपाल प्रहरीको साथमा राखेर चेकजाँचको काम सिकाएको बताउनु भयो । डिएसपी रेग्मीले आम मानिसलाई दुख नदिने गरी काम सिकाउनका लागि म्यादीलाई सडकमा परिचालन गरिएको बताउनु भयो । निर्वाचनका बेला नेपाल प्रहरीको साथमा रहेर चेकजाँचको काम समेत गर्नु पर्ने भएकाले अहिलेदेखी नै बर्दी लगाएका प्रहरीसंगै राखेर काम सिकाउनु परेको रेग्मीले बताउनु भयो । म्यादी प्रहरीको पोषाक शनिबार आउने र त्यस पछि काम गर्न सजिलो हुने डिएसपी रेग्मीले रेडियो सरगमलाई बताउनु भयो । असहज परिस्थिति आए आफुले त्यसलाई ब्यवस्थापन गर्ने समेत डिएसपी रेग्मीले बताउनु भयो । झापामा मात्र २ हजार एक सय १४ म्यादी प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 
 


यसमा तपाईको मत