|

समाचार

अब मोबाईलमा निर्वाचनका सबै गतिबिधि

 

काठमाडौं, बैशाख १५ ।। निर्वाचन आयोगले चुनावबारे १० वटा विशेषतासहितको मोबाइल एप सार्वजनिक गरेको  छ ।
एपबाट मतदाताले आफ्नो मतदाताको विवरण, निर्वाचन कार्यक्रम, मतदान केन्द्र, मतदाता शिक्षा, निर्वाचन शिक्षा, मतपरिणामसमेत हेर्न सकिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले शुक्रबार एक कार्यक्रम गरी उक्त मोबाइल एप सुरु गरेको हो । 
एपको माध्यमबाट पहिलो चरणमा वैशाख ३१ गते हुने पहिलो चरणको र जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन कार्यक्रमबारे जानकारी लिन सकिने सहसचिव लक्ष्मी यादवले जानकारी दिनु भयो । 
त्यसैगरी मतदाताले आफ्नो नाम र ठेगानामार्फत आफ्नो विवरणबारे जानकारी लिन सक्नेछन् ।
एपबाटै मतदाताले आफ्नो स्थानीय तहको मेयर र अध्यक्षदेखि सदस्यसम्मको जानकारी लिन सक्ने सहसचिव यादवले जानकारी  दिनु भयो । 
त्यसैगरी निर्वाचको मतगणना सुरु भइसकेपछि सम्बन्धित स्थानीय तहको निर्वाचन कार्यालयमा रहने इलेक्सन रिजल्ट इफर्मेसन सिस्टम (एरिस) बाट नतिजा केन्द्रिय सिस्टममा पठाएपछि उत्त नतिजा मोबाइलबाटै हेर्न सकिने भएको हो । 
यो एप आयोगको वेबसाइट www.election.gov.np वा एन्ड्रोएइड मोबाइलको प्ले स्टोर वा आइओएस मोबाइलको एप स्टोरबाट डाउनलोड गरी आफ्नो मोबाइलमा इन्स्टल गर्न सकनेछ । 
नेपाली र अंग्रेजी दुबै भाषामा रहेको यो  एपबाट निर्वाचन कार्यक्रम, क्रियाकलाप, मतदाता नं खोज, मतदाताको विवरण, मतदान स्थल र केन्द्र, मतदाता शिक्षा, उमेदवार सम्बन्धि विवरण, निर्वाचन नतिजा, मिडिया र बारेमा गरी १० ओटा विशेषता राखिएको छ । 
एपसँगै इन्टनेटको सुविधा नभएका मतदाताले निर्वाचन आयोगको टोल फ्रि नम्बर १६६०१४४२२२ मा सम्पर्क निर्वाचनसम्बन्धि जानकारी लिन सकिने बताइएको छ । नेपाल टेलिकमको फोनबाट मात्रै यो टोलफ्रि नम्बरमा शुल्क नलाग्ने आयोगले जनाएको छ । 
एप र टोल फ्रि नम्बरको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले यसले मतदातमा प्रविधिको प्रयोगमार्फत सहज जानकारी दिन सहज हुने जानकारी  दिनु भयो । 
 


यसमा तपाईको मत