|

समाचार

ह्वाइट हाउस पत्रकार सम्मेलन : द न्युयोर्क टाइम्स, सिएनएन र बिबिसीका पत्रकारले प्रवेश पाएनन्

ह्वाइट हाउस पत्रकार सम्मेलन : द न्युयोर्क टाइम्स, सिएनएन र बिबिसीका पत्रकारले प्रवेश पाएनन्
फागुन १४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चारमाध्यमबिचको टकराव बढ्दै गएको छ । सुरुदेखि नै सञ्चारमाध्यमको आलोचना गर्दै आउनु भएका राष्ट्रपति ट्रम्पले मेरिल्याण्डमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कांग्रेस (सिपिएसी) लाई सम्बोधन गर्ने क्रममा सुरुको १३ मिनेट सञ्चारमाध्यमको आलोचना गर्नुभएको थियो । ट्रम्पले अपुष्ट स्रोतलाई उद्धृत गर्दै खबर दिने गरेको भन्दै सञ्चारमाध्यमको आलोचना गर्नुभएको हो । ट्रम्पले मेरिल्याण्ड सम्बोधनमा सञ्चारमाध्यमको आलोचना गरेको केही समयपछि शनिबार राति ह्वाइट हाउसमा भएको ट्रम्पका प्रवक्त शान स्पाइसरको पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई सामेल हुन दिइएन । यसपछि ट्रम्प र सञ्चारमाध्यमबिचको टकरावले नयाँ रुप लिएको छ ।
 
ह्वाइट हाउसको पत्रकार सम्मेलनमा द न्युयोर्क टाइम्स, सिएनएन, बिबिसीसहितका विभिन्न संस्थाका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो । पत्रकारलाई सम्मेलनमा प्रवेश गर्न नदिनुको कुनै कारण खुलाइएको छैन । विभिन्न संस्थाका पत्रकारलाई प्रवेशमा रोक लगाइएपछि एसोसिएट प्रेस (एपी), टाइम म्यागजिन र हफिङटन पोस्टका पत्रकारले सम्मेलन बहिष्कार गरेका छन् ।ह्वाइट हाउस करेसपोन्डेन्ट एसोसिएशनले ट्रम्पका प्रवक्ताको पत्रकार सम्मेलनमा केही पत्रकारलाई प्रवेशमा रोक लगाएको प्रति कडा आपत्ति जनाएको छ ।
द न्युयोर्क टाइम्सका सम्पादक डिन बाक्वेटले ह्वाइट हाउस रिपोर्टिङको लामो इतिहासमा यस्तो पहिलो पटक भएको बताउनुभएको छ । सिएनएन र द न्युयोर्क टाइम्सले ट्रम्प प्रशासनको आलोचनात्मक खबर दिँदै आएका छन् ।   एजेन्सी 


यसमा तपाईको मत