|

समाचार

महोत्सव, उत्सव र राजनितिक दल

ज्ञानेन्द्र निरौला
झापाको मेचीनगर यतिवेला अन्य स्थान भन्दा फरक ढंकले हुर्किरहेको छ । देशै भरी संविधान संशोधन, निर्वाचन र सरकार जस्ता रेडिमेड बिषयहरुले सार्वजनिक भेला र चिया पसलको गफ सम्मलाई आर्कषित गरिरहेको बेला मेचीनगरमा भने अनौठो स्फुर्तिले यहाँका नागरिकलाई तरङ्गीत बनाएको छ । मुलुकका बिभिन्न ठाउँमा राजनितिक दलहरु बिच झैं झगडा र द्वन्दका घट्ना सार्बजनिक भैरहँदा मेचीनगरमा भने राजनितिक दलहरुको रचनात्मक कामले स्थानिय हर्षित भैरहेका छन । या भनौं हर्ष बिभोर छ यतिवेला मेचीनगर । 
माघ ८ देखि १४ गते सम्म नेपाली काँग्रेसको आयोजनामा मुलुक मै पहिलो पटक स्वास्थ्य महोत्सव भब्यताका साथ सम्पन्न भयो । करीब २१ हजार स्थानियले प्रत्यक्ष रुपमा स्वास्थ सेवा लिएको र करीब ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको उक्त महोत्सवमा स्वास्थसंग सम्बन्धीत बिभिन्न बिषयमा बिषय बिज्ञहरुसंग प्यानल डिस्कसन र खेलकुद, हाजिरी जवाफ तथा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो । प्रत्यक्ष रुपमा आम नागरिकलाई फाईदा पुग्ने काम त्यो पनि गुणस्तीरय स्वास्थ सेवाबाट बन्चीत बनेका दुरदराजका गाउँदेखी बिपन्न समुदायका लागि स्वास्थ्य महोत्सव बरदान नै साबित भयो । राजनितिक दलका बारेमा भत्किदैं गएको आम नागरिकको बिश्वास फेरी एक पटक स्वास्थ्य महोत्सवले जगाएको छ । राजनितिक दल सत्ताका लागि मात्र होईन संस्कारका लागि पनि काम गर्छन भन्ने उदाहरण नै बन्यो स्वास्थ्य महोत्सव । एउटा राजनितिक दल जसले भाषण बाजी भन्दा पर रहेर आम नागरिकको स्वास्थ्य जस्तो संवेदनशील र अतिमहत्वपुर्ण बिषयमा रचनात्मक काम गरे पछि समाजमा त्यसको प्रभाव सकारात्मक नै पर्ने निश्चित थियो र त्यो देखियो पनि ।
जसै स्वास्थ्य महोत्सव सकियो तत्कालै अर्को राजनितिक दलका तर्फबाट एउटा रचनात्मक कार्यक्रमको घोषणा भयो । स्वास्थ्य महोत्सव सकिएको दुई दिन पछि नै नेकपा एमालेको तर्फबाट मेचीनगरको धुलाबारीमा आगामी फागुन ९ गते देखी ११ गते सम्म वाल उत्सव गर्ने घोषणाले यो क्षेत्र नै यतिवेला वाल उत्सवको भब्य सफलताको कामनामा लागेको छ । तीन दिनसम्म वालवालिकाहरुको बौद्धिक, साँस्कृतिक र शारिरीक बिकासका लागि आयोजना गरिएको वाल उत्सव मुलुकै एउटा नमूना कार्यक्रम बन्न सके यो आयोजक राजनितिक दलका लागि मात्र होईन आम अभिभावक, सहभागी हुने वालवालिका र समग्रमा यस भेगको समाजको सकारात्मक रुपमान्तरणमा कोशे ढुंगा बन्न सक्छ । राजनितिक दलले यस खालका कार्यक्रम पनि आयोजना गर्न सक्दा रहेछन भन्ने उदाहरण प्रस्तुत गर्न सक्नु पनि स्वस्थ्य महोत्सव र वाल उत्सव जस्ता कार्यक्रहरुको सफलता नै हो । आज राजनितिक दलहरु प्रतिको आम धारणा जे बन्दै गईरहेको छ ठिक त्यसको बिपरित झापा क्षेत्र नं. १ मा दुईवटा राजनितिक दलले लगातार रुपमा नमूना कार्यक्रम दिनुले राजनितिक संस्कार बदल्न सके देश बिकसीत हुन धेरै समय पर्खनु पदैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ । 
काँग्रेस र एमालेले झापा मेचीनगरमा आयोजना गरिएका महोत्सव र उत्सवको भित्री पाटो राजनितिक प्रतिस्पर्धा नै हो । यसमा कसैले अरु कुनै कुरा गर्छ भने त्यसलाई पत्याउनु पर्छ जरुरी छैन । तर के चैं सत्य हो भने प्रतिस्पर्धाको मोडल फेरिएको छ । कसको ठुलो जुलुस र सभा भन्ने दलहरु आज कसको बढी रचनात्मक कार्यक्रम अनि कसको कार्यक्रमले आम नागरिकको बढी मन छुन सक्यो भन्ने तर्फ केन्द्रीत हुनु भनेको यो समाजमा राजनितिक गर्ने तरिका परिवर्तन हुँदै गएको प्रष्ट बुझ्न सकिन्छ । यो परिवर्तनको श्रेय कसले लिने वा कसलाई दिने भन्ने बिषयमा अल्झने बेला अहिले होईन । अहिलेको बेला त आयोजना जो कसैले गरेको किन नहोस आम नागरिकको जीवनमा प्रत्यक्ष फाईदा पुग्ने जुन सुकै कार्यमा सबै पक्षले सकारात्मक सहयोग गर्नु नै सबैको हितमा हुनेछ । काँग्रेसको आयोजनामा भर्खरै सकिएको प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सवमा जसरी नेकपा एमाले लगायतका अन्य दलको सहभागिता रह्यो अब एमालेको आयोजनामा हुन गईरहेको वाल उत्सवमा पनि काँग्रेस लगायत अन्य दलको सहभागिता उल्लेख्य हुनु पर्छ । तब मात्र असल राजनितिक संस्कारको बिकास हुन्छ । नत्र आफ्नो दलले गरेको काममा अरुको सहभागिता चैं खोज्ने तर अरु दलले गरेको काममा भने सहभागिता नजनाउने जस्तो दुसित मानसिकताले असल राजनिति गर्न सकिदैंन । 
राजनिति सत्ताका लागि मात्र होईन असल संस्कारका लागि पनि गर्न सकियो भने त्यो आम नागरिकको मनमा बस्ने राजनितिक दल र नेता बन्ने निश्चित छ । राजनितिक दल र तिनका अगुवालाई लाग्दो हो आम नागरिक राजनितिक दलका भजन मात्र गाउन जान्दछन । यदि त्यस्तो सोच कसैले राखेको भए तीनलाई थाहा होस की अबका नागरिक, दलका कार्यकर्ता भन्दा धेरै चेतना युक्त छन । आम नागरिकले हरेक पल राजनितिक दल र तीनका नेताले गरेको काम कारवाहीलाई नजिकबाट नियाली रहेका छन । जब समय आउँछ नागरिकले आफ्नो अस्त्र प्रयोग गर्छ त्यतिबेला राजनितिक दलमा ब्याप्त भ्रम चकनाचुर हुनेछ । त्यसैले राजनितिक दल र तिनका कार्यकर्ताले ंराम्रो काम जसले गरे पनि सहयोगी बन्नु पर्छ । त्यति मात्र होईन राजनितिक दलभन्दा बाहिर रहेका अन्य संघ संस्थाले गरेका उपयोगी कार्यमा पनि तिनको भुमिका रचनात्मक हुनु जरुरी छ । यस बिचमा वाल उत्सव सकिएको भोली पल्टदेखी अर्थात फागुन १२, १३ र १४ गते झापाको काकरभिट्टामा हुन गईरहेको कला साहित्य उत्सवको तेस्रो संस्करणलाई समेत पनि भब्य रुपमा सम्पन्न गर्न यहाँका राजनितिक दलहरुले सक्रिय भुमिका निर्वाह गर्नु आवश्यक छ । सबै राम्रा कामलाई प्रोत्साहन गर्नु र नराम्रो कामको भण्डाफोर गर्नु अबका दिनमा राजनितिक दलको पहिलो कर्तब्य बन्नु पर्छ अनि मात्र बिक्षिप्त बनेको राजनितिक संस्कार फेरी एक पटक सहि दिशामा आउनेछ । स्वास्थ्य महोत्सवलाई बधाई अनि वाल उत्सव र कला साहित्य उत्सवलाई भब्य सफलताको शुभकामना । 
 
लोकतन्त्र पोष्ट दैनिकबाट
 


यसमा तपाईको मत