|

समाचार

मेचीनगर–६ का महिलाहरुले बिपन्नलाई खानेकुरा बाँडेर तीज मनाए

मेचीनगर–६ का महिलाहरुले बिपन्नलाई खानेकुरा बाँडेर तीज मनाए
धुलाबारी, भदौ १५ ।। 
नाजगान र मिठामिठा परिकार खाएर मात्र तीज मनाउँनु पर्छ भन्ने मान्यता भन्दा फरक ढंगबाट पनि तीजलाई मनाउँन सकिन्छ भन्ने उदाहरण झापा मेचीनगर वार्ड नम्बर ६ का महिलाहरुले प्रस्तुत गरेका छन । नेपाल महिला संघमा आबद्ध मेचीनगर–६ का महिलाहरुले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर निम्नआय भएकाहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएका छन । मेचीनगर–६ का अति बिपन्न राम बहादुर अधिकारी, टेकलाल गौतम र रुपा किसानको परिवारलाई प्रति परिवार ५० किलो चामल, ५ किलो खानेतेल त्यस्तै दाल, चिनी, मटर लगायतका सामाग्री आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन । आज बिहान खुट्टीडाँगी चोकमा नेपाल महिला संघ मेचीनगर–६ की सभापति मञ्जु कट्टेलको अध्यक्षतामा सम्पन्न खाद्यान्न हस्तान्तरण कार्यक्रमका बीच मेचीनगर–६ बाट २०५४ सालको स्थानिय निकाय निर्वाचनमा निर्वाचित नगर परिषद सदस्य ६८ बर्षिया गंगा रोक्कालाई सम्मान समेत गरिएको थियो । नेपाल महिला संघ क्षेत्र नम्बर–१, झापाकी सभापति रचना घिमिरेको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा काँग्रेस जिल्ला सचिब प्रेम सम्बाहाम्फे, मेचीनगर सभापति ईन्द्र बहादुर बुढाथोकी, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष तेज प्रसाद चौलागाई, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, महिला संघ मेचीनगरकी अध्यक्ष शान्ति चौधरी, मेचीनगर लेडि जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, महिला संघ जिल्ला सदस्य जमुना खड्का, गोपाल खड्का र झुनादेवी वाँनिया र जानुका ओलीले तीजको अवसरमा महिलाहरुले रचनात्मक काम गरेर यो पर्वको महत्व झन बढाएको बताएका थिए । सबै हाँसी खुसी भएर रमाईलो गरिरहँदा कसैको घरमा दुई छाक टार्न पनि धौधौ भएको देखेर उनीहरुलाई पनि चार्डबार्डमा रमाईलो होस भनेर खाद्यान्न बितरण गरिएको कार्यक्रमकी अध्यक्ष तथा महिला संघ मेचीनगर–६ की सभापति मञ्जु कट्टेलले बताइन ।
यसैबिच नेपाल महिला संघ शान्तिनगरको आयोजनामा आज तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर–१ स्थीत टिमाईमा सम्पन्न तीज बिषेश कार्यक्रममा शान्तिनगर क्षेत्रका सबै राजनितिक दल, बिभिन्न संघ संस्था सबैको सहभागीता रहेको थियो । नेपाल महिला संघ शान्तिनगरका सभापति चन्द्रकला भट्टराईको सभापतित्व तथा नेपाल महिला संघ झापाका सभापति शुशिला ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बोधराज दाहाल, नेपाली काँग्रेस क्षेत्रिय सभापति मणिकुमार उप्रेती, काँग्रेस नेतृ दुर्गा खतिवडा, नेपाल सुपारी खेती बिकास संस्थाका अध्यक्ष देवी खतिवडाले तीजलाई सामुहिक रुपमा मनाउँदा महिलाहरुको क्षमता बिकासमा समेत सहयोगी बन्ने बताएका थिए । कार्यक्रममा महिलाहरुले बिभिन्न तीज गीतमा नृत्य गरेका थिए भने सामुहिक रुपमा तीजको दर समेत खाएका थिए ।
 


यसमा तपाईको मत