|

समाचार

हाकिम साब गाई मरे, उपचार खोई

ज्ञानेन्द्र निरौला यतिबेला झापाका विभिन्न ठाउँमा अज्ञात रोगका कारण चौपाया मरिरहेका छन् । विगत एक महिनादेखि झापाका बाहुनडाँगी, शान्तिनगर, दुधे, जलथल लगायतका स्थानमा दुहुना गाई मर्ने व्रmम बढेको छ । बाहुनडाँगी गाविस क्षेत्रमा मात्र पछिल्लो पन्ध्र दिनमा पाँचवटा दुहुना गाई अज्ञात रोगकै कारण मरिसकेका छन् । जिल्लाका विभिन्न ठाउँमा यसरी पशु चौपायामा अचानक देखिएको रोग र त्यसका कारण मर्नु सम्मको घटनाले पनि जिल्लाको पशुसेवा कार्यालयले तदारुकता बढाउन सकेको देखिँदैन । किसानले पालेका पशुको स्वास्थ्य लगायतका बिषयमा सहयोग गर्न राज्यले पशुसेवा कार्यालय नै स्थापना गरेको छ । तर, त्यसले किसानका घरसम्म पुगेर सेवा दिने कुरा भने आकाशकै फल जत्तिकै भएको छ । वर्तमान अवस्थामा त झन् पशु विकास मन्त्रालय नै स्थापना गरिएको छ । त्यो मन्त्रालय फगत भागबण्डा मिलाउनकै लागि गठन गरिएको भए पनि गठन पश्चात् त्यसको औचित्य पुष्टि गर्न पनि किसानलाई राहत दिन उक्त मन्त्रायलको तदारुकता जरुरी थियो । तर, त्यसो हुनुको सट्टा झापामा महामारीको रुप लिन खोजिरहेको अज्ञात रोगका बारेमा हालसम्म पनि पशु कार्यालय बेखबर छ । यतिसम्म कि किसानले आफ्नै पहलमा पशु कार्यालयको प्राविधिक सहयोग लिन प्रयास गर्दा पनि दक्ष जनशक्तिको अभावमा पशु मन्त्रालय कै अर्को निकायले उसको प्राविधिक क्षमतामा प्रश्न तेस्र्याउन थालेको छ । यो अवस्थामा दूरदराजका गाउँमा जीविकोपार्जनको मुख्य आधारका रुपमा हेरिएको पशुपालनबाट कसरी स्थानीय किसान लाभान्वित हुन्छन् रु एउटा ५ लिटर दुध दिने गाईको मूल्य ५० हजारभन्दा बढी पर्छ । सामान्य किसानको एउटा गाई भनेको गाई मात्र होइन, त्यो त उसको परिवार पनि हो । परिवार यसकारण कि ऊ त्यसको दुध बिव्रmीबाट आफ्ना बच्चाहरुको विद्यालयको शुल्क तिरिरहेको हुन्छ , आफ्नो आवश्यकता त्यसभित्रैबाट पूर्ति गर्न प्रयास गरिरहेको हुन्छ । त्यति मात्र होइन, त्यही गाईको गहुँत र गोबरले आफ्नो करेसावारीलाई मलिलो बनाएर अन्न तथा तरकारीबाली उत्पादन गरिरहेको हुन्छ । त्यसैले किसानले पालेको गाईको महत्व मूल्यसँंग होइन, त्यसको मर्मसंँग जोडिएको हुन्छ । अनि त्यही दुध दिइरहेको गाई कुनै रोग लागेर मर्यो भने त्यो किसानको सर्वस्व गुम्छ । उसको संसार अँध्यारो हुन्छ । यो अवस्थाको ख्याल नगरी गाउँमा भटाभट पशु चौपाया मरिरहँदा पशु कार्यालय भने चिर निन्द्रामा सुत्न पटक्कै सुहाउने विषय होइन । आदरणीय पशुसेवा कार्यालय झापाका हाकिम साब तपाईं जाग्नु पर्यो । आफ्ना सबै अङ्गलाई फैलाउनु होस् अनि प्रभावित किसानका घर–घरमा पठाउनुहोस् । ताकि दैनिक रुपमा फैलिँदै गएको त्यो अज्ञात रोग के हो रु तत्काल पत्ता लगाउनुहोस् । त्यो रोगबाट पशुलाई बचाउन सकिने उपायको बारेमा व्यापक रुपमा जनचेतना अभियान सञ्चालन गर्नुहोस् । सारा झापाली किसान तपाईंको पछिल्तिर उभिनेछन् । उठ्नुहोस् हाकिम साब , यो काम गर्ने बेला हो । यो अवस्थामा पनि किसानले राज्य भएको अनुभूति गर्न पाएनन् भने त्यसले विद्रोहको रुप धारण गर्नेछ अनि त्यो विद्रोहको शिकार तपार्इं स्वयम् बन्नु पर्नेछ । उद्योगी व्यवसायीको सामान्य भन्दा सामान्य समस्यामा गम्भीर बन्ने राज्य आखिर किसानको समस्यामा किन यति धेरै उदासिनता देखाइरहेको छ, त्यसतर्फ सर्वसाधारणको चासो जानु जरुरी छ । त्यतिमात्र होइन, बहुसङ्ख्यक नागरिक जीविकोपार्जनका लागि खेतीकिसानी र पशुपालन कार्यमा रहेको मुलुकमा किसान सबैभन्दा कमजोर नागरिकका रुपमा प्रस्तुत हुनु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुनु पनि चिन्ताको कारण बनेको छ । किसान अभिशाप होइन, वरदान हो भन्ने अब राज्यले बुझ्न जरुरी छ । gyanendrajhapa@gmail.com २०७३/२/२९

यसमा तपाईको मत