व्यावसायिक करलाई निरन्तरता दिएका हौँ : धनगढी उपमहानगरपालिका प्रमुख वड

प्रदेश ७ का ८८ वटा स्थानीय तहमध्ये एउटा मात्रै उपमहानगरपालिका हो, धनगढी उपमहानगरपालिका।

प्रदेश ७ को अस्थायी राजधानीसमेत अहिले यसै उपमहानगरपालिकामा अवस्थित छ। यस उपमहानगरपालिकामा १९ वटा वडा रहेका छन्। अधिकांश क्षेत्र सुगम रहे पनि यहाँका केही वडाहरूमा अझै पनि खानेपानी र विद्युत पुग्न सकेको छैन। गुणस्तरीय सडक नहुँदा वर्षामा हिलाम्य र हिउँदमा धुलाम्यको समस्या अझै अन्त्य हुन सकेको छैन। गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा उपमहानगर प्रमुखमा नेपाली कांग्रेसका नृप वड विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल थिए। दलित समुदायका वड कांग्रेसका धनगढी नगरका सभापति पनि हुन्। जनतfलाई सहज रूपमा आधारभूत आवश्यक्ता पूरा गराउने आश्वासन दिएर चुनाव जितेका जनप्रतिनिधिहरूले एक वर्षसम्म केके वाचा पूरा गरे? धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडसँग भानुभक्त आचार्यले गरेको कुराकानी प्रस्तुत छ।

कार्यकालको एक वर्ष पूरा गर्नुभएको छ, सम्झनलायक कति काम गर्नुभयो त?

सुरु गरेका सबै कामहरू लगभग सम्झनलायक नै छन्। हामी आउनुभन्दा अघि नगर स्वास्थ्य चौकीहरू तीनवटा मात्रै थिए, हामीले आठवटा बनाएका छौँ। खानेपानी पनि दुई-तीनवटा वडामा मात्रै सञ्चालन थियो। अहिले १६ वटा वडामा खानेपानी वितरण भइरहेको छ। सबैभन्दा ठूलो कुराचाहिँ हामीले स्मार्ट सिटीको निर्माण प्रक्रिया सुरु गरेका छौँ। त्यससँगै कोल्ड स्टोर सुरु गरेका छौँ। सिटी हल निर्माणको प्रक्रिया सुरु भइसक्यो। पार्कको काम हुँदै छ। थुप्रै काम भएका छन्।

स्मार्ट सिटी’ भन्नुुहुन्छ, धनगढी ‘भ्वाङ सिटी’ हुँदै छ, कहिल्यै हेर्नुभएको छ- सडकहरूमा कत्राकत्रा खाल्डाखुल्डी छन् भनेर?

‘स्मार्ट सिटी’ भनेको पाँच वर्षमै सम्पन्न हुने कुरो होइन। त्यो मापदण्डमा ल्याउने कुरा हो। त्यसको सुरुवात गरिरहेका छौँ। जस्तै : अहिले १९ वटै वडामा हामी आफ्नो निजी अप्टिकल फाइबर विस्तार गरिरहेका छौँ। कसैले नदेखेको, नसोचेको कारणले अन्योल हुन सक्छ। त्यसपछि गएर एडिबीको कार्यक्रम लागू हुँदै छ। अबको तीन-चार महिनापछि आरयुडिपीको कार्यक्रम पनि सुरु हुँदै छ। अर्काे कुरा, तपाईंले भनेजस्तै ठाउँठाउँमा सडक भत्किएका छन्। केही ठाउँमा अझै पुग्नै सकेका छैनन्। ती विषयमा पनि हामी गम्भीर छौँ। सडक निर्माणलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ। धेरै ठाउँमा विद्युतीकरण पनि बाँकी छ। त्यसलाई पनि हामी अघि बढाइरहेका छौँ।

चुनावमा आश्वासन दिँदा र काम गरेर देखाउँदा कति कठिनाइ हुँदोरहेछ? धेरै जनताले अझै पनि हामीले भनेजस्तो भएन भन्छन् नि?

चुनावमा दिएका सबै आश्वासन पूरा भए त म भन्दिनँ तर ती कार्यान्वयनको चरणमा छन्। १२-१३ महिनामै सबै सम्पन्न गर्छाैं, तपाईंहरूले सबै पाउनुहुन्छ हामीले कहिल्यै भनेनौँ। हामी पाँच वर्षका लागि आएका हौँ, हामीले भनेका सबै कुराहरू पाँच वर्षमा पूरा गर्छाैं। हामीले जुनजुन कामहरू गर्नेछौं भनेर घोषणापत्र तयार गरेका थियौँ, त्यसमा भएका लगभग सबै कुरा सुरु गरिसकेका छौँ। जस्तै : अहिले हामीले दुईवटा एम्बुलेन्स खरिद गर्दै छौँ। आठवटै स्वास्थ्य चौकीबाट पूर्ण नि:शुल्क ४३ प्रकारका औषधिको व्यवस्था गरेका छौँ। हामीले अस्पताल पनि सञ्चालन गरेका छौँ। प्रत्येक वडामा गुणस्तरीय शिक्षामा ध्यान दिएका छौँ। कृषिमा पकेट बनाएर अघि बढ्छौँ भनेका थियौँ, त्यो सुरु गरिसकेका छौँ। अहिले हामीले १६ वटा मझौला र एउटा ५० बिघाभन्दा ठूलो पकेट क्षेत्र बनाएर कृषि उत्पादलाई प्राथमिकता दिएका छौँ।

एक वर्ष बिताइरहँदा कस्ता कठिनाइहरूको सामना गर्नुपर्‍यो?

सबै कुरा सिकाइ नै हो जस्तो मलाई लाग्छ। हामीले पनि विगतको पहिलो वर्षलाई सिकाइको वर्षको रूपमा लिएर यस वर्षदेखि तीव्र गतिमा काम गर्ने योजना बनाएका छौँ। यस वर्षलाई हामी कानुन निर्माणको वर्षका रूपमा लिएर कानुन निमार्णलाई प्राथमिकता दिएका छौँ। कैलालीका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै कानुन हामीले तयार गरेका छौँ। तर कार्यालय व्यवस्थापनमा भने हामीलाई केही अप्ठ्यारो भइरहेको छ। कृषि, स्वास्थ्यलगायतका समायोजन भएर आएका कार्यालयहरूलाई व्यवस्थापन गर्न अप्ठ्यारो भएको हो। ती कार्यालयमा आवश्यक मात्रामा कर्मचारी छैनन्, जसले गर्दा काममा गति दिन सकिरहेका छैनौँ। योजनाअनुसार काम गर्न प्राविधिकको अभाव सिर्जना भएको छ। आवश्यक्ताअनुसारका कर्मचारी छैनन्, भएका कर्मचारीहरू पनि दक्ष छैनन। तमाम समस्या छन् तर पनि हाम्रो गतिलाई ती समस्याहरूले सुस्त बनाएका छैनन्।

दुई दशकपछि जनप्रतिनिधि आउँदा समस्या हुन्छ, काममा गति दिन सकिन्न भन्ने त तपाईंहरूलाई थाहा नभएको होइन होला नि? तर पनि चुनावका बेला हुटिट्याउँले आकाश नै थाम्नेजस्तो भाषण गर्नुहुन्थ्यो। सिंहदरबार गाउँसम्म पुर्‍याउने कुरा गर्नुहुन्थ्यो। जनतामाझ ठूलै भ्रमको खेती गर्नुभयो है?

त्यो त एउटा आरोप हो। तर त्यो नकार्न भने सकिँदैन। हामीले चुनाव लड्दा धेरै कुरा भनेकै थिएनौँ। हामीसँग अझै पनि घोषणापत्र छ। तपाईंले त्यो घोषणापत्र पनि हेर्न सक्नुहुन्छ। त्यो घोषणापत्रमा जेजे कुरा भनेका थियौँ, ती कुरा हामीले सुरुवात गरेका छौँ। त्यही घोषणापत्र मसँग छ। (देखाउँदै) ल हेर्नुहोस्, फोहोर व्यवस्थापन गर्नेछौँ भन्नुभएको छ। अहिले बजारभर फोहोरका डंगुर छन्। फ्रि वाइफाइको व्यवस्था गर्नेछौँ लेख्नुभएको छ। धनगढी हराभरा बनाउँछौँ भन्नुहुन्थ्यो, झन् कुरूप बन्दै छ। यस्तो छ अवस्था। तपाईं सबै गर्‍यौँ भन्नुहुन्छ। अझै जनतालाई भ्रममा राख्नुहुन्छ? होइन, होइन, त्यो एकदमै होइन। अहिले मात्रै हामी २० लाख रुपैयाँको बिरुवा लगाउँदै छौँ। फोहोर व्यवस्थापनको विषयमा हामीले सबै काम सम्पन्न गरेका भए पनि जो त्योसँग सम्बन्धित छैन, उनीहरूले बखेडा गरिरहेका छन्। उनीहरूकै विवादका कारण काम अघि बढ्न पाइरहेको छैन। चुनाव जितेर आइसकेपछि सबैभन्दा पहिले यही काममा लागेको हुँ। हामीले जमिन किनिसकेका छौँ। तर सरोकार र सम्बन्ध नै नरहेको पक्षले विवाद गरिरहेको छ। त्यसैले गर्दा काम अघि बढिरहन सकेको छैन। अबको चार वर्षपछि हामी धेरै कुरामा होइन, दुई-तीनवटा कुरामा फरक ल्याउनेछौँ। पहिलो कुरा हामी शिक्षामा परिवर्तन गर्छौं। अहिले राम्रो शिक्षाका लागि निजी विद्यालय जानुपर्छ भन्ने मासिकतामा हामी परिवर्तन ल्याउनेछौँ। सरकारी विद्यालयलाई पनि त्यो स्तरको बनाउनेछौँ। कृषिमा फरक गर्न हामीले सुरुवात गरिसकेका छौँ।

विवाद छ भनेर तपाईंहरू मौन बस्न मिल्छ त?

त्यस्तो होइन, हामी कोसिस गरिरहेका छौँ। अब छिट्टै सकिन्छ यो समस्या।

नमुना शहरको कुरा गर्नुहुन्थ्यो नि, त्यो भुल्नुभयो कि याद छ?

त्यो पनि याद छ। नमुना शहर बनाएरै छोड्छौँ। हामी हाम्रो कार्यकालमा केही कुरा बाँकी राख्दैनौँ। हामीसँग अझै चारवटा परिषद् बाँकी छन्। एउटा मात्रै परिषद् गएको हो। १९ वटै वडाका जनप्रतिनिधिहरू अहिले यही कुरामा खटिरहेका छन्। हिजो तीनवटा वडामा खानेपानी थियो, अहिले १६ वटा वडामा विस्तार गरेका छौँ। यो पनि त नमुना शहरको सुरुवात हो नि!

काम त थुप्रो गर्‍यौँ भन्नुहुन्छ तर खोला तर्दा पनि कर लगाउनुभएको छ। साइकलमा पनि कर छ। यो त अचाक्ली भएन र?

यो एकदमै गलत कुरा हो। जस्तो : साइकलमा पनि कर भनेर गलत प्रचार गरियो। हामीले त्यसमा कर लगाएका छैनौँ। अरूले गरेका कुराहरूमा पनि हामीलाई जोडिएको छ। मुलुकभर ७५३ स्थानीय तहमा सबैले कर बढाए भनिएको छ तर कसले केमा बढायो भन्ने बाहिर आउँदैन। हामी सबैलाई एउटै तराजुमा हालिएको छ। प्रष्ट रूपमा बुझिदिन हाम्रो आग्रह छ। खोला तर्दा कर लगायो भनियो तर हामीले डुंगामा कर लगाएका हौँ। त्यसमा पनि व्यावसायिक कर लगाएका हौं, व्यक्तिगत कर लगाएका होइनौँ। हामीले पहिलो पटक कर लगाएका पनि होइनौँ। त्यसमा निरन्तर १५ वर्षअघिदेखि कर लाग्दै आएको थियो। तत्कालीन जिल्ला विकास समितिले लिइरहेको कर अहिले हामीले लिएर निरन्तरता दिएका मात्र हौँ।

एक वर्ष त बितिसक्यो अबको चार वर्षपछि तपाईंको कार्यकाल सकिँदा कस्तो हुनेछ त धनगढी?

अबको चार वर्षपछि हामी धेरै कुरामा होइन, दुई-तीनवटा कुरामा फरक ल्याउनेछौँ। पहिलो कुरा हामी शिक्षामा परिवर्तन गर्छौं। अहिले राम्रो शिक्षाका लागि निजी विद्यालय जानुपर्छ भन्ने मासिकतामा हामी परिवर्तन ल्याउनेछौँ। सरकारी विद्यालयलाई पनि त्यो स्तरको बनाउनेछौँ। कृषिमा फरक गर्न हामीले सुरुवात गरिसकेका छौँ। हामीले तीनवटा वडामा यस पटक माटो परीक्षण सुरु गरेका छौँ। केही वडाहरूमा सुरु हुँदै छ। १६ वटा पकेट क्षेत्र बनाएका छौँ, अर्काे वर्ष थप गर्छाैं। तिनीहरूलाई अनुदानको व्यवस्था गर्छाैं। सिँचाइका लागि हामीले पहिलो प्राथमिकता दिएका छौँ। धनगढीको जालीमा १० करोड ५० लाख रुपैयाँको सिँचाइ योजना सुरु गरेका छौँ बाटो बनाउँदै छौँ। पुल बनाउँदै छौँ। बेहेडाबाबासम्म अब १५ मिनेटमा पुग्छौँ। पर्यटन क्षेत्रलाई पनि महत्त्व दिएका छौँ। जोखरबाबा तालको डिपिआर तयार गरेका छौँ। प्राविधिक कुरामा केही समय लाग्ला तर हामीले बोलेका कुराहरू कि पूरा गरेरै छाड्छौँ कि सुरु गरेरै छाड्छौँ। धनगढीलाई स्मार्ट सिटी बनाएरै छाड्छौँ।

थाहाखबरबाट साभार ; भानुभक्त आचार्य | कैलाली

प्रतिकृया दिनुहोस