बिमस्टेक : पाकिस्तान एक्लाउने भारतको दाउ या साँच्चैको आर्थिक विकास ?

सारथी खबर, दार्चुला ।

बिहीबार र शुक्रबार काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलन हुँदैछ । सम्मेलनको भव्य तयारी भैरहँदा बिमस्टेकको खास उद्देश्य के हो र यसलाई भारतले आफ्नो स्वार्थ अनुसार उपयोग त गरिरहेको छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

बिमस्टेकमा ७ वटा देश भए पनि भारतले यसलाई पाकिस्तान र चीनलाई चुनौती दिने संगठनको रुपमा प्रयोग गर्ने त होइन भन्ने टिकाटिप्पणी पनि सुनिन थालेका छन् । 

पाकिस्तानलाई एक्लाउने भारतको दाउ

बंगालको खाडीको पर्यावरणले असर गर्ने देशहरुलाई समेटेर बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक संगठन बनाइएको हो । २१ वर्षअघि अर्थात सन् १९९७ को जुनमा बंगलादेश, भारत, थाइल्याण्ड र श्रीलंका मिलेर बिस्ट इको अर्थात बिस्ट आर्थिक संगठन बनाइएको थियो । त्यसै वर्ष नै म्यानमारनलाई बिस्ट इकको सदस्य दिइयो । 

सन् १९९८ देखि ४ वर्षसम्म नेपाल यो संगठनको पर्यवेक्षक रहेको थियो । र सन् २००४ मा नेपाल र भुटान पनि यो संगठनमा आवद्ध भए र बिमस्टेक नाम राखियो । यो संगठनमा बंगालको खाडीबाट उत्पन्न हुने पर्यावरणले असर गर्ने देश छन् ।

तर बंगालको खाडीले नै असर गर्ने पाकिस्तानलाई भने यो समूहमा राखिएको छैन । केही देशले पाकिस्तानलाई पनि यो संगठनमा राख्न कोशिस गरे पनि भारतले पाकिस्तानलाई बिमस्टेकमा ठाउँ नै दिन चाहँदैन ।

विज्ञहरुका अनुसार पाकिस्तानसँगको द्वन्द्रवका कारण भारतले पाकिस्तानलाई  बिमस्टेकमा राख्न चाहेको छैन । बरु पाकिस्तान सहभागी भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई कमजोर पार्ने र  बिमस्टेकलाई बलियो बनाउने दाउमा भारत रहेको छ । 

‘पश्चिम एसियामा प्रभाव जमाएको भारतले पूर्वी एसियामा पनि आफू अनुकूलको बलियो संगठन बनाउन बिमस्टेकलाई उपयोग गर्न थालेको संकेत देखिएको छ’ कुटनीतिज्ञ भेषबहादुर थापाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘थाइल्याण्ड, म्यानमार जस्ता आर्थिक रुपमा उदाउँदै गरेका देशसँग आर्थिक साझेदारी पनि भारतको स्वार्थ त होला, तर यसमा पाकिस्तानलाई सहभागी नगराउनुले उसको संकेट बुझ्न गाह्रो छैन ।’

सार्कको सम्मेलनलाई निरन्तरता दिन चासो नदिने भारतले बिमस्टेकको निरन्तरता र प्रभावकारितामा जोड दिनुले पनि भारतले बिमस्टेकलाई बलियो बनाउन चाहेको पुष्टी हुन्छ ।

सार्कमा भन्दा बिमस्टेकमा चासो किन ?

सन् १९८५ मा स्थापना भएको सार्क सम्मेलन हरेक २/२ वर्षमा हुनुपर्ने हो । नेपालले सन् २०१४ मा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन गरिसकेको छ । १९ औं सम्मेलन स्न २०१६ को अक्टोवरमा पाकिस्तानमा हुनुपर्ने थियो ।

तर भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको तनावलाई कारण देखाएर भारतले सार्क सम्मेलन बहिष्कार गर्ने घोषणा  गर्‍यो । सुरक्षाको कारण देखाउँदै भारतले सम्मेलन बहिष्कार गरेपछि ४ वर्षदेखि सार्क सम्मेलन हुन सकेको छैन ।

अचम्मको कुरा त के छ भने सुरक्षाको कारण पाकिस्तानमा हुने भनिएको सार्क सम्मेलन बहिष्कार गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१५ को डिसेम्बरमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई जन्मदिनको शुभकामना दिन पाकिस्तानको लाहोर पुगेका थिए । 

भारतले पाकिस्तान पनि सदस्य रहेका सार्कलाई कमजोर बनाएर बिमस्टेकलाई बलियो बनाउन चाहेको अर्को उदाहरण ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन पनि हो । सार्कको शिखर सम्मेलन बहिष्कार गरेको भारतले सन् २०१६ मै गोवामा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सलाई बिमस्टेकसँग नजिक ल्याउन ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलन गर्‍यो । यसबाट पाकिस्तानले आफू झनै एक्लिएको महसुस गरेको छ । 

बिमस्टेकको बंगलादेशमा रहेको सचिवालयमा जम्मा १० जना कर्मचारी छन्, अनि सन् २०१६÷१७ को बजेट जम्मा २ करोड २ लाख रुपैयाँ रहेको छ । यस्तो कमजोर संगठनलाई बलियो बनाउन अहिले भारतले खुबै प्रयास गरेको देखिन्छ । 

सार्क कमजोर हुनु नै बिमस्टेक बलियो भएको संकेत

पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महत भारत र पाकिस्तानबीचको तिक्तताले नै  सार्क कमजोर र बिमस्टेक बलियो बन्दै गएको बताउनुहुन्छ । 

‘हामी भारत र पाकिस्तानबीचको विवादमा पर्न जरुरी नै छैन, तर पछिल्लो समय सार्कलाई ओझेलमा पार्ने गरी जुन बिमस्टेकको सक्रियता बढेको छ, यसले सार्क कमजोर हुनु नै बिमस्टेक बलियो भएको प्रष्ट संकेत दिएको छ’ पूर्व पराराष्ट्रमन्त्री डाक्टर महतले भन्नुभयो, ‘भारतको पनि आफ्नो स्वार्थ त होला, तर हामीले चाहे सार्क होस् या बिमस्टेक दुवैलाई आर्थिक विकास र सम्पर्क सञ्जाल विस्तारको अवसरका रुपमा लिनुपर्छ ।’

हुन त बिमस्टेकमा थाइल्याण्ड, बंगलादेश, श्रीलंका, म्यानमार जस्ता शक्तिशाली बन्दै गएका देश पनि आवद्ध छन्, भारतले बिमस्टेकलाई आफू अनुकूल प्रयोग गर्दा उनीहरुले पनि औंला उठाउन सक्छन् ।

तर नेपालसहितका केही देशले भने भारतको चाहनाअनुसार क्षेत्रीय सहयोग र समृद्धिको लागि बनेको सार्कलाई कमजोर बनाएर बिमस्टेक बलियो बनाउन हतार गर्छन् या गर्दैनन भन्ने चाहिँ हेर्न बाँकी छ ।

उज्यालो

प्रतिकृया दिनुहोस

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

प्रेमसिह धामीको योगदान र सपना (२१ औ स्मृति दिवसको अवसरमा)

कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक